NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

सामान्य क्षयरोग व्यवस्थापन

समान्य क्षयरोग व्यवस्थापन सेवा

क्षयरोग (Tuberculosis) एउटा सङ्क्रामक हावाबाट सर्ने रोग हो, जुन माइकोब्याक्टेरियम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) नामक जीवाणु (ब्यासिलस) द्वारा हुने गर्दछ। यो प्रायः फोक्सोमा असर गर्ने गर्दछ तर शरीरका अन्य अंगहरूमा पनि असर गर्न सक्छ। माइकोब्याक्टेरियम ट्युबरकुलोसिसले संक्रमित भएका व्यक्तिहरूमध्ये करिब ५ देखि १० प्रतिशत मानिसहरूमा मात्र जीवनकालमा क्षयरोगको सक्रिय अवस्था (TB disease) देखा पर्छ। तर, एचआईभी सङ्क्रमण, कुपोषण, मधुमेह, धूम्रपान र मदिरा सेवन गर्ने व्यक्तिहरूमा क्षयरोग विकसित हुने सम्भावना धेरै उच्च हुन्छ। क्षयरोग उपचारयोग्य र रोकथाम गर्न सकिने रोग हो।

विश्वभरमा क्षयरोग मृत्युका शीर्ष १० कारणमध्ये एक हो। सन् २०२३ मा करिब १ करोड ८ लाख मानिसहरूमा क्षयरोग देखापरेको थियो र सोही वर्षमा करिब १२ लाख ५० हजार मानिसको मृत्यु यसै रोगका कारण भएको अनुमान गरिएको छ। क्षयरोग अझै पनि नेपालमा प्रमुख सार्वजनिक स्वास्थ्य समस्या मध्ये एक हो र मृत्युका शीर्ष १० कारणहरूमा पर्छ। ग्लोबल टीबी रिपोर्ट २०२४ अनुसार, नेपालमा करिब ६८,००० जना व्यक्तिहरू क्षयरोगबाट प्रभावित भएका र १६,००० जनाको मृत्यु सन् २०२३ मा भएको अनुमान गरिएको छ। वि.सं. २०८०/८१ (२०२३/२०२४) मा राष्ट्रिय क्षयरोग कार्यक्रम (NTP) अन्तर्गत ४०,७७५ वटा क्षयरोगका केस दर्ता भएका थिए, जसमा मधेश, बागमती र लुम्बिनी प्रदेशहरूले कुल दर्ता भएको केसको ६८% योगदान दिएका थिए।

देशभरि रहेका सरकारी स्वास्थ्य संस्थाहरु तथा केहि निजि स्वास्थ्य संस्थाहरुबाट क्षयरोग उपचारको DOTS सेवाहरू प्रदान गरिन्छ। क्षयरोगको उपचार तथा व्यवस्थापनका लागि लगभग ६२४१ DOTS केन्द्रहरूले सेवाहरू प्रदान गरिरहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा, ७८५ वटा TB Designated Microscopic Center, ११७ mWRD (Xpert MTB/RIF) साइटहरू, २१ mWRD (XpertMTB/XDR) साइटहरू, २ कल्चर ल्याबहरू र DST साइटहरू मार्फत निदान सेवाहरू प्रदान गरिदै आएको छ। यी सेवाहरू बिरामीहरूलाई नि:शुल्क उपलब्ध छन्। क्षयरोग कार्यक्रममा विभिन्न चुनौतीहरूको बावजुद, नेपालले DS-TB को लागि उपचार सफलता दर ९२% र मृत्यु दर ३.३% कायम राखेको छ। क्षयरोगको अनुमानित बार्षिक पत्तता लगाउनु लक्ष्यको अनुपातमा पत्ता लागेका बिरामीहरु कम रहेको हुँदा ती पत्ता लगाउन नसकिएका केसहरू फेला पार्न र गुणस्तरीय र समतापूर्ण सेवाहरू मार्फत TB व्यवस्थापन गर्ने कुरामा अझै पनि महत्त्वपूर्ण चुनौतीहरू छन्। व्यापक बहुक्षेत्रीय दृष्टिकोण र बिरामी-केन्द्रित हेरचाह र TB हेरचाहमा निजी क्षेत्र र समुदायको अर्थपूर्ण संलग्नता विकास गर्न निरन्तर प्रयासहरू भइरहेका छन्।